धनगढी । कैलालीको गोदावरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना व्यक्ति घाइते भएका छन् । दुर्घटना बुधवार साँझ अत्तरिया-धनगढी ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका १ स्थित मनहरा पुल नजिकै भएको हो ।
से १ ज १८७३ नम्बरको जिपले सुप प्र ०१००१० प २७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । घाइते हुनेमा मोटरसाइकल चालक गोदावरी नगरपालिका ६ बडेहाका १९ वर्षीय दीपेन्द्र राना र पछाडि सवार सोही स्थानका २६ वर्षीय गोपाल चौधरी रहेका छन् ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, रानाको दुवै खुट्टामा चोट लागेको छ भने चौधरीको बायाँ खुट्टामा चोट लागेको छ । घाइते दुवै जनाको उपचार माया मेट्रो अस्पतालमा भइरहेको छ । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।




