काठमाडौं । ठगी र संगठित अपराध मुद्दामा फरार तनहुँका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । खनाल तनहुँको भानु नगरपालिका ८ बगालेफाँटका स्थायी बासिन्दा हुन् ।
प्रहरीका अनुसार खनाल सूर्यदर्शन बचत तथा ऋण सहकारीमा ठगी र संगठित अपराध मुद्दामा संलग्न थिए । उनी नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका संचालक तथा शेयरधनी पनि रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका ३ पानीपोखरीबाट पक्राउ गरेको हो । प्रहरीले खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाएको जानकारी दिएको छ ।




