काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका ४ मत्स्यपोखरीमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार, शनिबार दिउँसो करिब १ बजे ४२ वर्षीया दुर्गामाया गुरुङको बारीबाट काँक्रो टिपेर खाएको निहुँमा ४५ वर्षीय भीमबहादुर गुरुङको हत्या भएको हो ।
बस्नेतले स्थानीयको भनाइलाई उद्धृत गर्दै भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो खाएका कारण विवाद उत्पन्न भएपछि धारिलो हतियार प्रयोग गरिएको बताए । मृतकको साथमा आधा काँक्रो खाएको टुक्रा पनि फेला परेको छ ।
प्रहरीले मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।




