काठमाडौं । आर्थिक अवसरको अभावले गर्दा नेपालबाट विदेशिने नेपालीहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । अध्ययन र रोजगारीका लागि विदेश जानेहरूको भीड बढेसँगै, सरकारले भने नागरिकलाई स्वदेशमै रोजगार दिनेभन्दा पनि आफूलाई कमिशन आउने ठाउँ खोज्नमै ध्यान केन्द्रित गरेको देखिन्छ ।
नेपालमा म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरूको वृद्धि भएसँगै, यी संस्थाहरू गाउँ तथा शहरका युवायुवतीलाई विभिन्न प्रलोभनमा फसाएर विदेश पठाउँदै आएका छन् । यस अवसरको फाइदा उठाउँदै केही भारतीय व्यवसायीहरूले पनि नेपालमा म्यानपावर र कन्सल्टेन्सी सञ्चालन गरेर ठगी गरिरहेका छन् ।
विदेश पठाउने क्रममा, केही भारतीय एजेन्टहरूले नेपाली युवायुवतीलाई अवैध मार्ग हुँदै असुरक्षित ढंगले अन्य मुलुकमा पुर्याउने गरेका छन् । भारतको बाटो हुँदै लगिएका नेपाली युवतीहरूलाई घरेलु कामदार, होटल, रेष्टुरेन्ट तथा डान्स बारहरूमा काम गर्न लगाइन्छ । यस मार्गबाट जाने युवायुवतीमाथि शारीरिक शोषणसमेत गरिने घटनाहरू बेला बेला सञ्चारमाध्यममा आइरहेका छन् ।
हाल झन्डै १०० देशमा नेपालीहरू अध्ययन र रोजगारका लागि पुगेका छन् । रोजगारीका लागि प्रायः दुबई, कतार, मलेसिया, साइप्रस, कुवेत, बहराइन, क्रोएशिया र माल्टा जस्ता देशहरूमा जानेहरू धेरै छन् । यस्तै, अध्ययनका लागि अमेरिका, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, क्यानडा, जर्मनी, फ्रान्स र युकेमा जानेहरूको संख्या पनि बढ्दो छ ।
यी मुलुकहरूमा पनि नेपाली युवायुवतीहरू विभिन्न बहानामा शारीरिक शोषणमा पर्ने घटनाहरू सार्वजनिक भइरहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा मात्र कानूनी रूपमा ७ लाख ४२ हजारभन्दा बढी नेपाली अध्ययन र रोजगारका लागि विदेशिएका छन् ।
अवैध रूपमा भारतको मार्ग हुँदै अन्य मुलुक पुग्नेहरूको संख्या भने झन् डरलाग्दो रहेको बताइएको छ । यो संवेदनशील विषयमा राज्यका सम्बन्धित निकायहरूको ध्यान दिनुपर्नेमा, कर्मचारी र राजनीतिक दलहरू बीच कसले बढी लाभ लिने भन्ने होडबाजीले देशलाई थप संकटतर्फ धकेलिरहेको छ ।




