काठमाडौं । तराई/मधेश द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा पूरा होला कि नहोला भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो तथ्यांकले देखाउँछ कि पछिल्लो ६ महिनामा द्रुतमार्गको औसत मासिक प्रगति दर ०.५३ प्रतिशत मात्र छ, जसका आधारमा यो परियोजना निर्धारित समयमै पूरा हुने सम्भावना शंकास्पद देखिन्छ । नेपाली सेनाको रिपोर्ट अनुसार, अहिले सम्म ६३.५८ प्रतिशत काम गर्न बाँकी छ ।
सुरुङहरूको अवस्थामा केही प्रगति भएको देखिन्छ । ६ वटा सुरुङमध्ये लेनडाँडा सुरुङको दुवै मार्गमा ‘ब्रेकथ्रु’ सम्पन्न भएको छ । यस्तै, धेद्रे सुरुङको दायाँ भागको ‘ब्रेकथ्रु’ भइसकेको छ भने बाँयातर्फ ९५ प्रतिशत काम सम्पन्न भएको छ । महादेवटार सुरुङमा बायाँ टनेलको ६८ प्रतिशत र दायाँ टनेलको ५१ प्रतिशत काम सकिएको छ । देवीचौर र सिसौटार सुरुङहरूको डिजाइन प्रक्रिया जारी छ भने चन्द्रामभीर सुरुङमा पोर्टल प्रिपेरेसनको काम भइरहेको छ ।
८९ पुलमध्ये ८५ वटा पुलहरू निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा ५ वटा पुल बनिसकेका छन्, र अन्य ठाउँहरूमा फाउण्डेसन तथा सब-स्ट्रक्चरको काम चलिरहेको छ । आयोजनाको लागि अधिग्रहण गर्नुपर्ने १७ हजार ६५१ रोपनी जग्गामध्ये हालसम्म ४ हजार ८११ रोपनी अधिग्रहण भइसकेको छ । बाँकी रहेको ३९४ रोपनीमा खोकना–बुङ्गमती खण्डमा ३७१ रोपनी र मकवानपुर तथा काठमाडौंमा क्रमश: १६ र ४ रोपनी अधिग्रहण गर्न बाँकी छ ।
रुख कटानको काममा पनि प्रगति भएको छ । हालसम्म ३१ हजार ९५० वटा रुख काटिएका छन्, जसको सट्टामा ७ लाख ५ हजार ५५२ बिरुवा रोपिएको छ । आयोजनाको लागत भने सुरुवाती अनुमान ९८ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । सात वर्षमा ७० अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले २२ अर्ब ५४ करोड ९३ लाख बजेट विनियोजन गरेको छ, जसमध्ये पहिलो तीन महिनामा ३ अर्ब ४६ करोड ५१ लाख रुपैयाँ खर्च भइसकेको छ ।




