काठमाडौं । मौसम पूर्वानुमान महाशाखा भोलि (बिहीबार) देखि भाइटीकाको दिनसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै विभागले कार्त्तिक १५ देखि १८ गतेसम्म केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
यो वर्षको तिहार आजदेखि सुरू भएको छ । कात्तिक १८ गते भाइटीका छ । विभागले बुधबार बुलेटिन प्रकाशित गर्दै तिहारको चतुर्दशी (१५ गते), औंसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया अर्थात् भाइटीका (१८ गते) का दिनहरूमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना छ । विभागका अनुसार आज पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




