अछाम । अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार ७ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । ट्याक्टरको पछाडिको ट्राली मोडमा पल्टिएपछि दुर्घटना भएको हो ।
ट्याक्टर दुर्घटना हुँदा ढकारी गाउँपालिका १ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल र उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा, १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा घाइते भएका छन् ।
गम्भीर घाइते दिनेश रिमालको निधार, कम्मर र खुट्टामा चोट लागेको छ भने धने टमट्टाको टाउको र घाँटीमा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लगिएको छ भने बाँकी घाइतेहरूको उपचार ढकारी स्वास्थ्य चौकीमा भइरहेको छ ।
घटना चाइराबाट पराल बोकेर आउँदै गरेको सु प प्र ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनको मोडमा दुर्घटनाग्रस्त भएको हो । ट्याक्टरमा सवार अन्य चार जना भने सकुशल रहेका छन् ।
प्रहरीले घटनास्थलबाट ट्याक्टर चालक, सोही गाउँपालिका १ निवासी २९ वर्षीय लोकबहादुर बुढालाई नियन्त्रणमा लिएको छ ।




