काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका हो । भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशामा फर्केर बस्ने भन्ने धेरैलाई कौतूहल हुन्छ । यो वर्ष भाइटीका लगाउनेहरूले पूर्वतर्फ र टीका लगाइमाग्नेहरूले पश्चिमतर्फ फर्कनु पर्ने सुझाव छ । यसो गर्दा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्न जानेछन्, जसलाई शुभ कार्यमा दाहिने पार्नु पर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, स्वास्थ्य र ऐश्वर्यको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ । आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ भने दिनभर टीका लगाउन उपयुक्त मानिएको छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी, थालीमा अष्ट चिरञ्जीवीहरू, चित्रगुप्त, यमराज, यमुना, धर्मराज लगायतका देवताहरूको पूजा गर्दै दिदीबहिनीले परम्परा अनुसार दाजुभाइलाई सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिन्छन् ।
यद्यपि, तिहारमा सप्तरङ्गी टीका लगाउने चलन भएपनि परम्परागत शास्त्रीय मान्यता अनुसार टीका लगाउँदा पाँच रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो प्रयोग गर्न भनिएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटी लगायतका परिकार दिने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने यो धार्मिक तथा सामाजिक परम्परा हो ।




