काठमाडौं । काभ्रेमा आमाको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका ३ भञ्ज्याङगाउँकी ६९ वर्षीया माइली लामाको हत्या गरेको आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कात्तिक १६ गते अपराह्न सवा ४ बजे माइली आफ्नै घरको भान्सामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी टोली खटाएर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानमा तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको थियो ।
प्रहरीका अनुसार मृतकका कान्छा छोरा फुर्साङले कोठामा सुतिरहेकी आमाको सुनको रिङ र नगदका कारण लोभमा परेर सिलौटोले प्रहार गरी अचेत बनाएका थिए । त्यसपछि आग्लोले पुन: प्रहार गर्दै आमाको हत्या गरेको आरोप उनीमाथि छ ।
घटनापछि फुर्साङ सुनको रिङ र नगद लिएर फरार भएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले थप अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।




