काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका २ मा मंगलबार राति बसले ठक्कर दिँदा मोटरसाइकल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमै सवार दुई जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते रत्ननगर १३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिम राजमार्ग सडक खण्डमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको म प्र ०१–००१ ख ०४५७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलमै सवार २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । बस चालक ४६ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




