काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरी सरकारी जागिर खाने एक अधिकृत अदालतबाट दोषी ठहर भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कैलालीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो ।
उनलाई नक्कली प्रमाणपत्रको आधारमा कम्प्युटर अपरेटरको पदमा नियुक्ति लिएर सातौं तहसम्म बढुवा भएको आरोपमा छानबिन गरिएको थियो । शाहले भारतको प्रयागराजस्थित माध्यमिक शिक्षा परिषद्को नक्कली इन्टरमिडियट प्रमाणपत्र पेस गरेको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।
विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार शाहलाई दोषी ठहर गर्दै ९ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
त्यस्तै, पोखरा महानगरपालिका वडा नं. ३२ स्थित सहरी स्वास्थ्य केन्द्रमा करारमा कार्यरत कर्मचारी शोभा उप्रेतीलाई पनि अदालतले दोषी ठहर गरेको छ । अहेव पदमा काम गर्दै आएकी उप्रेतीले काठमाडौंस्थित एक विद्यालयबाट एसएलसी पास गरेको नक्कली प्रमाणपत्र पेस गरेको खुलेको हो । उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।
गत आर्थिक वर्षमा मात्रै ३४ जना सरकारी कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । तीमध्ये मनोनीत १ जना, उपसचिव सरह ३ जना, शाखा अधिकृत वा सो सरह ११ जना, नायव सुब्बा वा सो सरह ४ जना, र खरिददार वा सो सरह १५ जना रहेका छन् । नक्कली प्रमाणपत्रको दुरुपयोगसम्बन्धी उजुरीहरूले सरकारी प्रशासनमा बेथिति र अनियमितता उजागर गरिरहेको देखिन्छ ।




