मोरङ । मोरङको उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारेमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा पथरीशनिश्चरे नगरपालिका ५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका ४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र सोही ठाउँका २८ वर्षीय अमृत लिम्बूले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार दीपक धिमाल र किशोर गुरुङको अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो भने अमृत लिम्बूको उपचारका क्रममा झापाको बी एन्ड सी अस्पतालमा निधन भयो ।
घटनास्थलमा रहेको प्रत्यक्षदर्शीका अनुसार प्रदेश १-०२-०५० प ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारीलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकलसँग ठोक्किँएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पथरीशनिश्चरे ५ का ३० वर्षीय विष्णु धिमालको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।




