चितवन । चितवनमा पाँच युवतीलाई विदेश पठाउने बहानामा बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा निवासी ४४ वर्षीय राजकुमार थिङ (उर्फ राजु तामाङ) लाई नारायणगढबाट पक्राउ गरिएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।
आरोपीले गाउँका सोझासिधा युवतीहरूलाई निःशुल्क विदेश पठाउने आश्वासन दिएका थिए । उनले युवतीहरूको पासपोर्ट संकलन गरी भारतबाट भिसा लगाइदिने बहानामा नारायणगढबाट सुनौलिको बस चढाएर भारत लैजान खोजेका थिए ।
सूचना पाएपछि प्रहरीले युवतीहरूको उद्धार गरेको र आरोपीलाई पक्राउ गरेको एसपी मिश्रले बताए । उद्धार गरिएका पाँच युवतीलाई सुरक्षित गृहमा पठाइएको छ । मानव बेचबिखन मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




