काठमाडौं । काठमाडौंका मदन रानाले देशकै प्रतिष्ठित कान्ति बाल अस्पतालमा उपचारका क्रममा उनकी नवजात छोरीको खुट्टामा सिरिन्ज छोडिएको आरोप लगाएका छन् ।
रानाका अनुसार उनकी छोरीलाई जन्मेको १२ दिनमै जन्डिसको समस्या भएपछि कार्तिक २६ गते कान्ति बाल अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि कार्तिक २९ गते डिस्चार्ज गरिएपछि घरमा गएर ध्यान दिएर हेर्दा बच्चाको दाहिने खुट्टाको तिघ्रामा गाठो देखा परेको थियो ।
चिकित्सकलाई देखाउँदा गाठोभित्र सिरिन्ज रहेको पुष्टि भएको रानाले जानकारी दिए । सिरिन्ज झिक्नका लागि इशान बाल अस्पताल, काठमाडौंमा सफल शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि बच्चाको खुट्टाबाट झिकिएको सिरिन्जको लम्बाइ २.६ सेन्टिमिटर रहेको छ ।
मदन रानाले कान्ति बाल अस्पतालको यो लापरबाही प्रति गम्भीर असन्तोष व्यक्त गर्दै यस्तो संवेदनशील ठाउँमा यस्तो लापरवाही हुनु दुखद् भएको बताएका छन् । यो घटनाले अस्पतालको जिम्मेवारी प्रतिको ध्यानाकर्षण गराउँदै सेवामा सुधारको माग उठाउनु पर्ने देखिएको छ ।
अस्पताल प्रशासनले हालसम्म यस घटनामा कुनै प्रतिक्रिया दिएको छैन । सिरिन्ज जस्तो वस्तु नवजात शिशुको शरीरमा छोडिनु अस्पतालको लापरबाहीको चरम उदाहरण भएको भन्दै यो विषयमा छानबिन गर्नुपर्ने माग उठेको छ ।




