काठमाडौं । ललितपुर महानगरपालिका २ स्थित सानेपामा भारतीय नम्बरको ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । भारतीय नम्बर युपी ४० टि–८१६२ ट्रकले सुरुमा बागमती–बिएए–५१४० नम्बरको निजी कारलाई ठक्कर दिएको थियो ।
उक्त कारको पछाडि सिटमा सवार दुई व्यक्ति घाइते भएका छन् । सो ट्रकले त्यसपछि एकान्तकुनाबाट बल्खु जाँदै गरेका बा २ ज २६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार र बा ९ च ९३०३ नम्बरको निजी कारलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूको स्टार अस्पताल र बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।




