सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १७ बालग्राम चोकमा भएको सवारी साधन दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुरुङ दम्पती रहेका छन् ।
सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।




