सुनसरी । कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नेपाली एक हजार दरका ४ थान नक्कली नोटसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् ।
लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको दुई वटा पसलबाट १/१ थान गरी उक्त एक हजार दरको नक्कली नेपाली नोट बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




