धनगढी । धनगढी उपमहानगरपालिका ४ तारानगरमा डेरा गरी बस्ने दुई किशोरलाई अपहरण गरी बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमा गोदावरी नगरपालिका १ अत्तिरियाका २४ वर्षीय भुपी खड्का, कैलाली धनगढी उपमहानगरपालिका १ सन्तोषी टोलका १८ वर्षीय किशोर (कञ्चनपुर बेलौरी नगरपालिका ५ निवासी) र डडेल्धुरा अमरगढी नगरपालिका १ का १८ वर्षीय किशोर छन् ।
उनीहरूले धनगढी-४ तारानगरस्थित बाझो घरमा पीडित किशोरहरूलाई बन्धक बनाएर लागूऔषध खुवाएका, खुकुरी देखाएर त्रास फैलाएका, र कुटपिट गरेको उजुरी परेको थियो ।
पीडितहरूको उजुरीका आधारमा वडा प्रहरी कार्यालय धनगढीले छानबिन गर्दै सोमबार तीनै जनालाई पक्राउ गरेको हो । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




