धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यस मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार, विवाह पञ्चमीमा लाखौं तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार चार सय प्रहरी परिचालन गर्ने तयारी गरेको छ । चोरी, डकैती, पाकेटमार जस्ता अपराध रोक्न तालिम प्राप्त सादा पोसाकका प्रहरी परिचालन गरिने जनाइएको छ ।
सीमानाबाट मेलासम्म शान्ति सुरक्षा र भन्सार सुरक्षासहित भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर सात सय पाँच सशस्त्र प्रहरी परिचालन गरिनेछ । अत्यधिक भीड हुने स्थानमा ड्रोनको सहायतामा सुरक्षा निगरानी राख्ने तयारी गरिएको छ ।
मेलामा आउने सवारी साधन र भीडलाई व्यवस्थापन गर्न एक सय ४० ट्राफिक प्रहरी परिचालन गरिनेछ । विशेष मार्ग छुट्याउने तयारी पनि गरिएको छ ।
सार्वजनिक सरसफाइ, अस्थायी शौचालय निर्माण र स्वास्थ्य सेवाको व्यवस्था पनि सुनिश्चित गरिएको छ । प्रादेशिक अस्पतालले २४ घण्टा चिकित्सकको व्यवस्था राख्ने, खानेपानी र विद्युत् आपूर्ति सुनिश्चित गर्ने कार्य भइरहेको छ ।
मेलाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर र रगतको व्यवस्था गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले सुरक्षाका लागि ३५० सुरक्षाकर्मीको व्यवस्था गरेको छ र तीर्थयात्रीहरूको लागि आवास तथा भोजनको व्यवस्था गरेको छ ।
यस पटक भारतबाट पाँच सय जन्तीको आगमनको अपेक्षा गरिएको छ र पाँच वर्षको अन्तरालमा अयोध्याबाट जन्ती आउने परम्परा कायम गरिएको छ ।




