काठमाडौं । मकवानपुरमा एक युवकले सहकर्मीको हत्या गरेका छन् । मनहरी गाउँपालिका ६ प्रतापुरको लच्कामा ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहीबार बिहान १:३० बजे लोप्चनले आफ्नै घरमा सुतिरहेका मोक्तानमाथि साबेल प्रहार गरेका थिए । लोप्चन र मोक्तान निर्माण क्षेत्रका मजदुर थिए र प्रायः लोप्चनकै घरमा सँगै सुत्थे ।
साबेल प्रहारबाट गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा बिहान ३:२० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनापछि लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




