सिरहा । सिरहाको नरहामा शिक्षकहरूको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई जना बालक घाइते भएको छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन् ।
घाइते मध्ये राजेशको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए । उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भइरहेको छ ।’ फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भीर चोट लागेको शिक्षक यादवले जनाए ।
यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानीयहरूको आरोप छ । ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा विद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रममा दुई विद्यार्थी घाइते भएको स्थानीयहरूको भनाई छ ।
विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गेट आधी मात्र खोलेर कक्षा कोठा र कार्यालय खोल्न गएपछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरूको भनाई रहेको छ । विद्यालयका शिक्षकहरू समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरूको गुनासो रहेको छ । न्युजकारखाना




