रौतहट । रौतहटको गरुडा २ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको आज डुबेर मृत्यु भएको छ । गरुडा नगरपालिका २ गेडाहीका देवालाल साहका १८ वर्षीय छोरा जितेन्द्र साह र उमेश साहका १८ वर्षीय छोरा राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो नुहाउन गएका उनीहरू बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको टोली खटिएको थियो । डुबेका दुवैलाई अचेत अवस्थामा उद्धार गरी बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।




