रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले उपनिर्वाचन हुने जिल्लाको ३ वटा वडाहरुमा सवारी साधनसँगै स्थानिय बाहेकलाई पैदल आवत जावतमा समेत रोक लगाएको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो ।
स्थानिय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोली बेलुकी ५ बजे मतदान नसकेसम्म अत्यावश्यक र अनुमती लिएका बाहेक सबै सवारी साधनमा रोक लगाईएको सिडियो हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्यत्रका मानिसहरूलाई समेत आवत जावतमा रोक लगाएको छ ।
उपनिर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरुमा कडा चेकिंग र खान तलासी हुने भएको हुँदा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सबैसँग आग्रह गरेको छ ।





