रौतहट । रौतहटको टिकुलियास्थित लालबकैया नदीमाथि पक्की पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले हिउँदभर ह्युम पाइप राखेर अस्थायी पुल प्रयोग गर्दै सदरमुकाम गौरसम्मको यात्रा गर्न बाध्य छन् ।
२०६७ सालमा टिकुलिया घाटमा पक्की पुल निर्माणको योजना सुरु भएपनि २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको पुल अहिलेसम्म पूरा भएको छैन ।
नगरपालिकाले हिउँदभर नदीमा ह्युम पाइप राखेर वैकल्पिक बाटो बनाएपछि सदरमुकाम गौर र ईशनाथ नगरपालिकाका गाउँ जोड्न सहज भएको छ ।
नगर प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताका अनुसार ह्युम पाइपले २०/२२ किलोमिटर लामो घुमाउरो यात्रा छोट्याइदिएको छ । यसअघि वर्षायाममा जोखिमपूर्ण डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
डिभिजन सडक कार्यालयका इन्जिनियर अशोक यादवका अनुसार पप्पु कन्स्ट्रक्शनले २०७४ सालभित्र पुल निर्माण गर्ने जिम्मा लिएपनि काम नगरेपछि कम्पनी कालोसूचीमा पर्यो । त्यसपछि आजाद दीपु जेभीले २७ करोड रुपैयाँमा ठेक्का लिएको भएपनि हालसम्म पुलको ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।
डुङ्गा दुर्घटनामा ज्यान गुमाएका पाँच व्यक्तिको दुःखद स्मृति बिर्सन नसकेका स्थानीय अहिले ह्युम पाइपबाट निर्माण गरिएको अस्थायी बाटोले केही राहत महसुस गरिरहेका छन् ।




