सिरहा । सिरहाको मिर्चैया नगरपालिका ५ बजार क्षेत्रमा नालाका लागि खनेर छाडिएको खाल्डोमा डुबेर २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु भएको छ । आइतबार बिहान हातेकलमा पानी लिएर फर्किने क्रममा चिप्लिएर खाल्डोमा खसेकी महतोको मृत्यु भएको हो ।
महतोलाई पानीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी मिर्चैया अस्पताल लगेका थिए । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।
नगरपालिकाको लापरबाहीमाथि आक्रोश
स्थानीयका अनुसार, नगरपालिकाले नाला निर्माणका लागि एक वर्षअघि खनेको खाल्डो अलपत्र अवस्थामा छाडिएको थियो । नगरपालिकाको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीय आक्रोशित बनेका छन् ।
उनीहरूले शव बुझ्न अस्वीकार गर्दै नगरपालिकालाई कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । “यो घटना नगरपालिकाको लापरबाहीको परिणाम हो,” मृतक महिलाका श्रीमान् जीवछ महतोले भने । स्थानीयहरूले ठेकेदार र नगरपालिका दुवैलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।




