लेटाङ । नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय लेटाङको आयोजनामा र लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक नगरस्तरीय स्काउट क्याम्प सञ्चालन हुने भएको छ ।
लेटाङ नगरपालिकाकी उपप्रमुख एवम् स्थानीय स्काउट परिषद्की अध्यक्ष कृष्ण कुमारी निरौलाको अध्यक्षतामा मंसिर १२ गते बसेको परिषद् बैठकले मंसिर २९ र ३० गते स्काउट क्याम्प सञ्चालन गर्ने निर्णय गरेको हो ।
लेटाङ नगरपालिकाभित्र स्काउट इकाई सञ्चालित पाँच विद्यालय— लक्ष्मी मावि लेटाङ २, शान्ति भगवती मावि लेटाङ ४, पूर्वाञ्चल अल्मा मेटर होम लेटाङ ४, नोबेल एजुकेसन एन्ड डेभलपमेन्ट फाउन्डेसन लेटाङ ८ र जाँते नमूना मावि लेटाङ ९ का करिब १९५ स्काउट विद्यार्थीहरू क्याम्पमा सहभागी हुनेछन् ।
श्री शान्ति भगवती मावि, लेटाङ ४ मा एक रात दुई दिनसम्म सञ्चालन हुने क्याम्पमा विद्यार्थीहरूले १५ भन्दा बढी स्काउटका गतिविधिमा सहभागिता जनाउनुका साथै विभिन्न प्रतियोगितामा भाग लिनेछन् ।




