धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका ४ इटाहामा आइतबार राति आएको हात्तीको बथानले १७ घर भत्काउँदा स्थानीय बासिन्दाको स्थिति अत्यन्त दयनीय भएको छ । गाउँमा रहेका १८ घरमध्ये १७ घर हात्तीले भत्काएको र ५० भन्दा बढी स्थानीय परिवार बिछोडिएका छन् ।
घरमा राखिएको अन्नपात समेत हात्तीले नोक्सान पुर्याएपछि, केही परिवार अहिले भोक भोकै बस्न बाध्य भएका छन् । तीन महिनादेखि हात्तीको आतंकबाट स्थानीय बासिन्दा प्रभावित हुँदै आएका छन् । रातको समयमा हात्तीको बथानले अन्न र घरको क्षति गर्दा बासिन्दाहरूको जीवनस्तर निकै बिग्रिएको छ ।
हात्तीको बथानले लालझाडी गाउँपालिकामा हालसम्म निकै ठूलो धनजनको क्षति पुर्याएको छ । भारतको दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेका करिब ४०/५० हात्तीहरूको बथानले गाउँका घरहरू भत्काउन र खेतीको नोक्सान गर्न थालेको हो ।
यसका कारण केही किसानका गाई, बाख्रा र अन्य चौपाया जनावर पनि मरेका छन् । गाउँका विभिन्न वार्डहरूमा हात्तीको आतंक फैलिएको छ र अहिले जनजीवन प्रभावित बनेको छ ।




