रौतहट । गुजरा नगरपालिका ४ स्थित महागढीमाई मन्दिरमा यस वर्षको वार्षिक मेला १७ मंसिरदेखि सुरु भएको छ । मेला समितिका अनुसार २५ मंसिरसम्म सञ्चालन हुने मेलामा धार्मिक अनुष्ठानसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिनेछ ।
गढीमाई मन्दिरको स्थापना र इतिहास
करिब १७ वर्षअघि गुजरा ४ मा इट्टाभट्टा सञ्चालन गर्न गएका व्यवसायी गगनदेव कुमार साहको व्यवसायमा आएको समस्या समाधान गर्दै उक्त स्थानमा महागढीमाई मन्दिरको स्थापना भएको थियो । साहले इट्टा पकाउने क्रममा बारम्बार समस्या भएपछि स्थानीय धामी देवीलाल चौधरीको सल्लाह अनुसार गढीमाई मन्दिरका तान्त्रिक दुखन धामीलाई भेटेका थिए ।
धामीको सुझाव अनुसार उक्त स्थानमा गढीमाईको बहिनीको बासस्थान रहेको भन्दै सानो मन्दिर ९गहबर० निर्माण गरिएको थियो । त्यसपछि व्यवसायमा आएका सबै समस्या समाधान भएको स्थानीयले बताएका छन् । मन्दिर निर्माणपछि स्थानीय समन्वय र प्रदेश सरकारको बजेट सहयोगमा गढीमाई मन्दिरलाई विस्तार गरियो । जसपाका तत्कालीन केन्द्रीय उपाध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाले मन्दिरको शिलान्यास गरेका थिए भने जसपाका प्रदेश भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए ।
मेलाको विशेष कार्यक्रम
महागढीमाई मेलामा यस वर्ष पनि विभिन्न धार्मिक अनुष्ठान र मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ । मेला समितिका अध्यक्ष पलट चौधरीका अनुसार मेलामा २० मंसिरमा टिकटक स्टार प्रीति पासवानको प्रस्तुति, २१ र २२ मंसिरमा सांगीतिक नृत्य कार्यक्रम, २३ मंसिरमा राँगा बलि र २४ मंसिरमा खसी बलि हुनेछ । २५ मंसिरमा मेला विधिवत् रूपमा सम्पन्न हुनेछ । मेलामा सहभागी हुने भक्तजनका लागि विभिन्न मनोरञ्जनात्मक सुविधा समेत उपलब्ध गराइनेछ ।
धार्मिक महत्त्व
मन्दिरमा भक्तजनहरूले आफ्नो भाकल पूरा भएपछि राँगा, बोका, परेवा लगायतका जनावरको बलि चढाउने गर्दछन् । मेला सञ्चालनका क्रममा मन्दिरका मूल तान्त्रिक उमाशंकर धामीले शरीरका पाँच स्थानबाट निकालिएको रगत गढीमाईलाई चढाउने परम्परा पनि यस वर्ष कायम रहनेछ ।
भक्तजनको आस्था र विश्वास
महागढीमाई मन्दिरमा भक्तजनहरूको आस्था र विश्वास दिनदिनै बढ्दै गएको छ । मेला हेर्न नेपालका विभिन्न क्षेत्रका साथै छिमेकी मुलुक भारतबाट पनि श्रद्धालु आउने क्रम बढेको मेला समितिले जनाएको छ । मेलाको सफल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको मेला आयोजक समितिले जानकारी दिएको छ ।




