रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रत्न लामामाथि मनोमानी र कानुनी प्रक्रियाको उल्लंघन गर्दै मनलाग्दी कार्य गर्ने गरेको आरोप स्थानीयले लगाएका छन् । अनुगमन समितिको संयोजकको जिम्मेवारीमा रहेर पनि नियम र कानुनको बेवास्ता गर्दै व्यक्तिगत मनपरीका काम गरिरहेको गुनासो स्थानीयले व्यक्त गरेका छन् ।
वडा नम्बर ४, जंगलसैया- उपमेयर लामाको गृह क्षेत्रमा उपभोक्ता समिति नबनाउँदै मनलाग्दी कार्य गर्ने गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा कालोपत्रे चमार टोलसम्मको करिब १७५ मिटर सडक ढलानको काम सम्पन्न गरिएको छ ।
तर, उक्त कामका लागि उपभोक्ता समिति गठन गर्न मंसिर ६ गते सूचना जारी भएपनि मंसिर १३ सम्म समिति गठन नगरिक नै निर्माण कार्य सकिएको छ । वडाका कार्यवाहक अध्यक्ष शेख जफिरले आफूले प्रक्रिया पूरा गर्न सूचना जारी गरेपनि उपमेयर लामाका श्रीमानको निर्देशनमा मनलाग्दी तरिकाले काम अघि बढाइएको आरोप लगाएका छन् ।
स्थानीयको आक्रोश र आरोप
स्थानिय चुनचुन जयसवालका अनुसार, उपमेयर लामाले अनुगमन समितिका संयोजक भएर पनि कानुनको बेवास्ता गर्दै मनपरी गरेकी छिन् । यस्तो कार्य उपमेयर पदमा रहेको व्यक्तिबाट हुनु लज्जास्पद भएको उनको भनाइ छ ।
उपमेयरको बचाउ
यता, उपमेयर रत्न लामाले भने वडाध्यक्षले समयमा उपभोक्ता समिति गठन नगरेकाले काम अघि बढाउन बाध्य भएको बताएकी छन् । तर, यस विषयमा स्थानीय तहमा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ ।
आफ्नै पार्टीभित्र विरोध
नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर लामाविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले समेत असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको नाम बदनाम हुने गरी मनोमानी काम गरेकाले चिन्ता व्यक्त गर्दै कांग्रेसका नेताहरूले सुधारको माग गरेका छन् ।
विवादास्पद इतिहास
यसअघि पनि उपमेयर लामाले वडा नम्बर ४, जंगलसैया बजारमा २० लाख रुपैयाँको योजना बिना इस्टिमेट र कार्यादेश सम्पन्न गरेर नगरपालिकाबाट भुक्तानी लिएको आरोप लागेको थियो ।
भुक्तानी र कानुनी चासो
अब नगरपालिकाले यो विवादास्पद कामको भुक्तानी कसरी गर्छ भन्ने चासोको विषय बनेको छ । यस बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा परेको स्रोतले जानकारी दिएको छ ।




