वीरगंज । १ डिसेम्बरका दिन विश्व एड्स दिवसका अवसरमा वीरगंजमा विभिन्न कार्यक्रम आयोजित भए । विभिन्न संघ संस्थाले ३७ औं विश्व एड्स दिवस मनाउँदै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (क्वेयर समुदाय) मा परिवार नियोजनका साधन कन्डमको चरम अभाव रहेको उजागर गरेका छन् ।
कन्डम प्रयोगलाई एचआइभी रोकथामको महत्त्वपूर्ण उपाय मानिन्छ । स्वास्थ्य संस्थाहरूले यस बारे जनचेतना फैलाउने अभियान जारी राखेका छन्, तर कन्डम आपूर्तिमा ध्यान नपुग्दा समस्या उत्पन्न भएको छ । वीरगंजमा सक्रिय एक संस्थाका अनुसार दैनिक डेढ हजार कन्डमको माग भए पनि आपूर्ति अपुग भएको छ ।
ग्रामीण क्षेत्रमा कन्डमको माग उच्च रहेको छ भने विशेष कार्यक्रम र उत्सवमा समेत यसको आवश्यकता बढ्ने गरेको छ । यौनकर्मीको बढ्दो संख्याले कन्डमको माग थप चुलिएको छ । वीरगंजमा मात्रै सयभन्दा बढी यौनकर्मी सक्रिय रहेको अनुमान गरिएको छ । अन्य पेशामा विभेद र अपहेलनाका कारण कतिपयले यौनकर्मलाई मुख्य पेशा बनाएका छन् ।
सुरक्षित यौन सम्पर्कको लागि कन्डमको प्रयोग अनिवार्य मानिए पनि यसको अभावले एचआइभी जस्ता रोगहरूको जोखिम बढिरहेको छ । हाल नारायणी अस्पताल वीरगंजमा १,४४३ जना एचआइभी संक्रमितले उपचार लिइरहेका छन्, जसमा ५३ बालबालिका छन् । सुईद्वारा लागूऔषध प्रयोगकर्ता, यौनकर्मी र विदेशबाट फर्किएका व्यक्तिहरूमा एचआइभी सङ्क्रमण उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पर्सा जिल्लामा कन्डमको माग बढेको भएपनि आपूर्ति अपुग रहँदा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासमा चुनौती देखा परेको छ । सामाजिक सञ्जालको प्रयोगले यौनकर्मी र ग्राहकबीचको सम्पर्क सहज भएपनि यसले स्वास्थ्य जोखिम बढाएको सरोकारवालाहरूले औंल्याएका छन् ।




