रौतहट । विश्वप्रसिद्ध बारा बरियारपुरस्थित गढीमाई मन्दिरमा लागिरहेको पाँच वर्षे गढीमाई मेलामा लाखौं मानिसको भीड लागेको छ । मेलामा आउने जाने यात्रुहरूलाई सहज बनाउन मौलापुर नगरपालिकाले मुख्य सडकको मर्मत कार्य सुरु गरेको छ ।
गत असोज महिनामा लालबकैया नदीमा आएको बाढीले क्षतिग्रस्त पारेको जयनगर-मौलापुर-वीरगंज सडकको मर्मत गर्न सम्बन्धित निकाय र सरकारले ध्यान नदिएपछि नगरपालिकाले मर्मत र पुनर्निर्माणको काम थालेको मेयर रिना कुमारी साहले बताइन् ।
प्रसिद्ध गढीमाई मेलालाई लक्षित गर्दै नगरपालिकाले सडक मर्मत र निर्माण कार्य सुरु गरेको जनाएको छ । यसैबीच, पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले नगरपालिकाको यो प्रयासको प्रशंसा गरेका छन् ।
उनले भने, “केन्द्र र प्रदेश सरकार मातहतका यस्ता सडकहरूको मर्मत जिम्मेवारी सरकारकै हो । तर, सरकारको गैर जिम्मेवार र अनैतिक व्यवहारका कारण बाढीबाट क्षतिग्रस्त संरचनाहरू बेवास्ता गरिएका छन् ।”
उनले थप भने, “यति धेरै समय बितिसक्दा पनि क्षतिग्रस्त संरचनामा ध्यान नदिनु गैरजवाफदेहिताको पराकाष्ठा हो । केन्द्र र प्रदेश सरकारको यस गैरजिम्मेवारीतामा कांग्रेस–एमाले गठबन्धनका समर्थकहरूको मौनता झनै दुःखद छ ।”
गढीमाई मेलामा यस पटक करिब २ करोड मानिस सहभागी हुने अनुमान आयोजकहरूको छ । मन्दिर पुग्ने सबै मार्गमा सयौं किलोमिटर टाढाबाट मानिसहरूको घुइँचो देखिन्छ ।
गत १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा उद्घाटन गरेको मेलामा लाखौं भक्तजनहरूको उपस्थिति छ । गढीमाई मन्दिरमा मंसिर २३ गते आइतबार बलि प्रदान गरिने जानकारी मूल पूजारी मंगल चौधरीले दिए ।
गढीमाई मन्दिरमा बलि प्रथा अन्तर्गत मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्नो शरीरका पाँच स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि बलि प्रक्रिया सुरु हुने परम्परा रहेको छ ।
रोग–शोक निको हुने, सन्तान प्राप्ति हुने तथा मातालाई गरिएको भाकल पूरा भएपछि मेलामा हजारौं भक्तजनले परेवा, बोका, राँगा लगायत पशुहरूको बलि दिने गर्छन् । मेलामा नेपालका अधिकांश जिल्ला र भारतका विभिन्न स्थानबाट लाखौं मानिस आउने गर्छन् ।




