रौतहट । रौतहटको कटहरिया नगरपालिका ४, बलरामपुर गाउँ स्थित गढीमाई मन्दिरमा भव्य मेला सुरु भएको छ । शुक्रबार साँझ एक समारोहका बीच वडा अध्यक्ष चन्दन कुशवाहाले रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरे । वडा अध्यक्ष कुशवाहाले कार्यक्रममा बोल्दै बलरामपुर गढीमाई मन्दिरमा यस पटक विशेष पूजासहित मेला आयोजना गरिएको जानकारी दिए ।
पाँच वर्षमा एक पटक लाग्ने यस मेलामा कटहरिया वडा ४ बाट १ लाख रुपैयाँ सहयोग गरिएको छ, साथै दर्जनौं स्थानीयले ४ लाख रुपैयाँ चन्दा सहयोग गरेको उनले बताए । उद्घाटन कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले बलरामपुर गढीमाई मन्दिरको निर्माण र मेला आयोजक वडा अध्यक्ष कुशवाहाको सराहना गरे । मेयर साहले मन्दिरका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
यो मेला मङ्सिर २४ गतेसम्म चल्ने आयोजक मेला मूल सेवा समिति बलरामपुरले जानकारी दिए । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन्, जसमा आजदेखि आइतबारसम्म विर्जाभारको नाच र सोमबार टिकटक स्टारहरूको जमघट हुनेछ । बलरामपुर गढीमाई मन्दिरमा राँगा, खसी, परेवा र हासको बलि दिइने जनाइएको छ ।
गढीमाई मन्दिरमा दर्शन गर्न भक्तजनहरू आउने गर्दछन्, र भाकल पूरा गर्नेले पशु बलि पनि दिन्छन् । मेलामा रौतहट र अन्य जिल्लाबाट पनि भक्तजनहरू आउनेछन् । १५ वर्षअघि स्थापित बलरामपुर गढीमाई मन्दिरको पुन: निर्माण र मूर्ति स्थापनामा १३ लाख रुपैयाँको लागतमा गरिएको थियो ।




