बारा । बाराको वरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरूको संख्या निरन्तर बढ्दै गएको छ । गढीमाई मेला मूल व्यवस्थापन समितिका अनुसार मंसिर १ गतेदेखि सुरु भएको मेलामा मंसिर २२ गते शनिबार दिउसो सम्म ४० लाख दर्शनार्थीहरू उपस्थित भइसकेका छन् ।
मेलामा विशेष पूजा नजिकिँदै गएपछि भक्तजनहरूको भीड थप बढेको गढीमाई मन्दिरका मुख्य पुजारी शिव चौधरीले बताए । मेला प्रारम्भ हुने समयदेखि नै देशभरिका विभिन्न जिल्लासहित विदेशबाट पनि लाखौँ भक्तजनहरू दर्शन गर्न आउने क्रम जारी छ ।
शनिबारको सार्वजनिक बिदाले मेलामा आउने दर्शनार्थीहरूको सङ्ख्या अझ बढेको छ । मेलामा पशु बलि दिइने दिन नजिकिँदै गर्दा ५ हजार राँगा मेलामा उपस्थित भइसकेका छन् भने १७ हजार बलि चढ्ने अनुमान गरिएको छ । बलि दिन सुरु हुनुअघि विशेष पूजा सम्पन्न गरिने व्यवस्था गरिएको छ ।
सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तजनहरूको सुरक्षाका लागि तीन हजार प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । ३५० भन्दा बढी सिसिटिभी क्यामराले मेलास्थलको निगरानी गर्दैछ ।
मेला आयोजकहरूले दर्शनार्थीहरूको लागि खानेपानी, शौचालय, स्वास्थ्य शिविर र बासको व्यवस्था पनि मिलाएका छन् । मन्दिर परिसरमा ब्यारेकेटिङ गरिएको छ ताकि भक्तजनहरूलाई असहजता नहोस् । साथै, विशेष पूजा गर्न ५०० रुपैयाँको नगद रसिद लिएर जाने व्यवस्था गरिएको छ ।
गढीमाई मेला यो वर्ष ३ करोड दर्शनार्थीहरूको आगमनको अनुमान गर्दै, यसको व्यवस्थापनलाई अझ व्यवस्थित र सुरक्षित बनाउने प्रयास भइरहेको छ ।




