काठमाडौं । काठमाडौं महानगरपालिकाका म:म पसलमा सरसफाइ र स्वच्छता सम्बन्धी समस्या देखिएको छ । कार्तिक २९ गतेदेखि महानगरको टोलीले अनुगमन गरेका ८५ म:म पसलमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ समस्या पाइएको छ । ६६ वटा (७७.६५%) पसलको भान्छा र कार्यस्थल पनि अस्वच्छ पाइएको महानगरको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
सुन्धारा, न्युरोड, मखन, त्यौड र कमलपोखरी क्षेत्रमा गरिएको अनुगमनले भान्छा सफाइको कमी, फोहोर एप्रोन प्रयोग, खुला रुपमा पकाएको खाना राख्ने, शाकाहारी र मांसाहारी भोजनसँगै भण्डारण गर्ने र किराको समस्याका लागि स्वेच्छाले रसायन प्रयोग गर्नेजस्ता समस्या उजागर गरेको छ ।
फ्रिज सफा नगर्ने, अत्यधिक सामान कोचेर राख्ने, मसला र अचारमा लेबल नराख्ने र म:म बनाउने टेबल र मेसिन फोहोर हुने जस्ता अवस्था पनि पाइएको छ । महानगरले सरसफाइ र स्वच्छतामा सुधार गर्न तुरुन्त निर्देशन र सुझाव दिएको छ । अस्वच्छ देखिएका पसललाई सुधारका लागि विशेष ध्यान दिन महानगरले चेतावनी दिएको छ ।




