धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका १ विनवारीमा भएको दम्पती हत्याकाण्डमा प्रहरीले डेढ महिनापछि पक्राउ परेका गंगाराम रानालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार रानाले हत्या स्वीकार गरेका छन्, तर घटनामा प्रयोग भएको हतियार अझै फेला परेको छैन । अदालतबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान जारी रहेको छ ।
गत कार्तिक ८ गते राति विनवारीका रमेश बडायक (४६) र उनकी पत्नी कमला बडायक (४३) को घरमै हत्या गरिएको थियो । शव अर्को दिन बिहान घरमै भेटिएको थियो । दम्पतीले सञ्चालन गरेको मदिरा र मासु पसलमा मदिरा नदिएको विवादपछि रानाले चिर्पट प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।
प्रहरीले रानालाई निगरानीमा राखेपछि दोस्रो पटकको सोधपुछमा उनले अपराध स्वीकार गरेका थिए । घटना भएको राति राना अन्यत्र मदिरा सेवन गरेर राति करिब ११/१२ बजेतिर बडायक दम्पती कहाँ मदिराका लागि पुगेका थिए । मदिरा नदिएको विषयमा विवाद भएपछि हत्या गरेको रानाको दाबी छ ।
हतियार भने अझै फेला नपरेकोले अनुसन्धान जारी रहेको डीएसपी जोशीले बताए । यसअघि, घटनास्थलबाट दम्पतीले बैंकबाट निकालेको दुई लाख ४३ हजार रुपैयाँ सुरक्षित फेला परेको थियो । घटना सम्बन्धी विस्तृत अनुसन्धानका लागि रानालाई हिरासतमा राखिएको छ ।




