बैतडी । बैतडीको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत १४ वर्षीय विद्यार्थी अपिल बिष्टको निस्सासिएर मृत्यु भएको छ । सुर्नया गाउँपालिका ५ निवासी बिष्ट हाल ज्ञानेश्वर माविमा प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत थिए । बिष्ट डेरामा बस्दै आएका थिए ।
शुक्रबार राति खाना खाएर कोठामा सुत्न गएका उनी टिनको भाँडोमा आगोको कोइला लिएर गएका कारण निस्सासिएर मृत्यु भएको हुन सक्ने विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले जानकारी दिए ।
शनिबार बिहान बिष्ट नउठेपछि कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
छात्रको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै ज्ञानेश्वर माविले आइतबार शोक बिदा दिएको छ ।




