बारा । बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा स्थानीय तह र राजनीतिक दलका प्रतिनिधिहरूबीच स्वागत गेट निर्माणको होडबाजी चलेको छ । मंसिर १ गतेदेखि शुरू भएको मेलामा शुक्ल पक्षका दिनहरूदेखि मुख्य पूजासहित भक्तजनहरूको भीड बढ्न थालेको छ ।
मेलामा आउने मार्गहरूमा विभिन्न स्थानीय तह र नेताहरूले स्वागतद्वार निर्माण गरेका छन् । वीरगंज–कलैया–बरियारपुर सडकखण्ड र हुलाकी राजमार्गमा ठूल्ठूला गेटहरू राखिएका छन्, जसको लागत २५ हजारदेखि एक लाख रुपैयाँसम्म परेको बताइएको छ ।
स्वागतद्वार निर्माणमा खर्च गरेको बजेट मेलाका लागि आवश्यक संरचना निर्माण वा अन्य उपयोगी काममा लगाएको भए अझ प्रभावकारी हुने स्थानियहरूले सुझाव दिएका छन् । मेलामा सहभागी भक्तजनहरूलाई स्वागत गर्नका लागि बनाइएका यी गेटहरूलाई कतिपयले सरकारी रकमको अस्थायी उपयोगको रूपमा हेरेका छन् ।




