खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेस्थित ढाडगाउँमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर १८ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मिलन दमाई रहेको प्रहरीले जनाएको छ ।
सोमबार रावाबेँसी गाउँपालिका २ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा मिलनको घटनास्थलमै मृत्यु भएको हो ।
गोलिया काठ संकलन गर्ने क्रममा नजिकैको सुकेको मौवाको रूख अचानक ढलेर किच्दा मिलनको ज्यान गएको रावाबेँसी २ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए । उनका अनुसार, मृतक मिलन एक हप्ता अगाडि ज्यालादारी कामका लागि सो क्षेत्रमा आएका थिए ।
‘उनी यहाँ गोलिया काठ संकलन गर्न आएका थिए । दुर्भाग्यवश रूखले किचेर ज्यान गएको खबर आएको छ । घटना पश्चात प्रहरीलाई जानकारी गराइएको थियो,’ वडाध्यक्ष बस्नेतले भने । प्रहरी टोलीले घटनास्थलमा मुचुल्का उठाएर शव परीक्षणका लागि जिल्ला पठाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार, स्थानीयले घटना बारे खबर गरेपछि अनुसन्धानका लागि प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा टोली खटिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ ।




