झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार प्रहरीले काँकडभिट्टाबाट उद्दार गरिएकी किशोरीको बयानका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन्, र उनकी आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले घरमा काम गराउने र पढाइदिने बहानामा किशोरीलाई आफ्नो घरमा राखेको खुलेको छ ।
किशोरीलाई भारततर्फ जान खोजिरहेको अवस्थामा काँकडभिट्टाको नाकामा रहेको ‘आफन्त नेपाल’ संस्थाको सहयोगमा उद्दार गरिएको थियो । उद्दारपछि उनले घटना बारे बयान दिएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार, शिवाकोटीमाथि बलात्कार आरोपमा अनुसन्धान जारी छ । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भई बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।




