काठमाडौं । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका ७ स्थित मनहरी बजारमा शंकास्पद रूपमा हिँडिरहेका एक जोडीको साथबाट करिब १० किलो गाँजा बरामद गरेको छ ।
मकवानपुरको कैलाश गाउँपालिका ४, झ्याके बस्ने ५२ वर्षीय प्रतापसिं मोक्तान र उनकी ५० वर्षीया पत्नी राममाया मोक्तानलाई शंका लागेर शरीर र झोला खान तलासी गर्दा झोलाभित्र लुकाइएको अवस्थामा ९ किलो ८५० ग्राम गाँजा फेला परेको हो ।
मोक्तान दम्पतीलाई सोमबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिइएको छ । मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




