बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका २ नडाङ्गमा एक नाबालिकाको घाँटी रेटी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४८ वर्षीय नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको हत्या गरेका हुन् । विनिता हर्क सनाई र तुलादेवी सनाईकी छोरी थिइन् । उनी घर पछाडि खेलिरहेकी बेला नन्देले धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ ।
मृतक बालिकाका जेठा बुबा लुलाराम नेपालीका अनुसार, नन्देले बालिकाको हत्या गरेपछि शव आफ्नो घरमा लुकाएका थिए । प्रहरीले घरको ढोका फोडेर नन्देलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार, अभियुक्तलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
घटनामा प्रयोग भएका धारिला हतियारहरू– हँसिया, कोदालो र बन्चरो पनि बरामद गरिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । आफन्तको जाहेरी दर्ता भएपछि अभियुक्तविरुद्ध मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।




