जनकपुरधाम । मधेश प्रदेशका स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । प्रदेशका स्थानीय तहमा कार्यरत प्राविधिक, लेखा, राजस्व, प्रशासन लगायत विभिन्न समूहका १६० कर्मचारीहरूले पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन् ।
पटक पटक लिखित र मौखिक रूपमा माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको गुनासो छ । एक वर्षअघि संघीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलनमा उत्रिएका हुन् ।
सुरुदेखि नै समस्या समाधानका लागि पटक पटक माग गरिएपनि प्रदेश सरकारले कुनै कदम नचालेको उनीहरूले आरोप छ । अन्य प्रदेशमा संघीय लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारीहरूको पदस्थापना भइसकेपनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना अझै हुन सकेको छैन । पदस्थापनाको अभावले उनीहरूले सेवा सुविधा पाउन समेत कठिनाइ भएको बताउँछन् ।




