सर्लाही । सर्लाहीको उत्तरी चुरे क्षेत्रका विकट बस्तीमा बसोबास गर्ने स्थानीयवासी वर्षौंदेखि आधारभूत सेवाको अभावमा कठिन जीवनयापन गर्न बाध्य छन् । भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा पर्ने चुरे पाखाका स्थानीय सडक, बिजुली, खानेपानी, स्वास्थ्य जस्ता आवश्यक सेवाबाट वञ्चित छन् ।
जिल्लाका विभिन्न नगरपालिकाको चुरे भेगमा रहेका दर्जनौँ बस्तीमा सडक नपुगेको र स्थानीयले कच्ची भिरालो बाटो तथा खोला किनार हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । केही क्षेत्रमा हिउँदयाममा खोला किनारबाट सवारी साधन चल्ने भएपनि माथि डाँडाका बस्तीमा पैदल जानुबाहेक विकल्प छैन ।
बस्तीमा खानेपानी र सडकको अभावले स्थानीयको दैनिकी झनै कठिन बनेको छ । औषधोपचार, किनमेल वा अन्य कामका लागि बजार जानुपर्दा घण्टौँ हिँड्नु पर्ने बाध्यता रहेको छ । विद्यार्थीले विद्यालय पुग्न दैनिक एक घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ, किनकि चुरेका धेरै बस्तीमा विद्यालय नै छैन ।
चुरे क्षेत्रका केही बस्तीमा सुत्केरी वा बिरामी व्यक्तिलाई झोलुङ्गोमा राखेर गाडी चल्ने स्थानसम्म लैजानु पर्ने अवस्था छ । केही ठाउँमा सडक ट्र्याक निर्माण भएपनि यातायात सञ्चालनमा समस्या रहेको छ ।
बिजुलीका तार केही बस्तीमा पुगेपनि सबै घरमा उज्यालो पुर्याउन नसकिएको स्थानीयले बताएका छन् । वडाका सीमित बजेटले चुरेका बस्तीका सबै आवश्यकताहरू पूरा गर्न नसकिने जनप्रतिनिधिहरूको भनाइ छ ।
स्थानीयबासीले पाखोबारीमा उत्पादन हुने मकै, कोदो, तोरी र बोडीजस्ता बालीले केही महिना मात्रै खान पुग्ने बताए । छरिएर रहेका घरहरूको अवस्थाले विकास निर्माणका योजना सञ्चालन गर्न झनै कठिनाई थपेको छ ।
दैनिक खाद्यान्न खरिद र औषधोपचारका लागि चुरेका बासिन्दालाई लामो दूरीको यात्रा गरेर बजार झर्नुपर्ने बाध्यता छ । छरिएर रहेका बस्ती र दुर्गम स्थानका कारण चुरे क्षेत्रका स्थानीयको समस्या समाधान गर्न अझै लामो समय लाग्ने देखिन्छ ।




