सर्लाही । सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरूले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिएको छ । शनिबार (मंसिर २९) र आइतबार (मंसिर ३०) सार्वजनिक बिदाको दिन सरकारी गाडीको अनधिकृत प्रयोग गरिएको पाइएको हो ।
शनिबारको घटना
मंसिर २९ गते शनिबार सार्वजनिक बिदाको दिन निमित्त कार्यालय प्रमुख रेन्जर बिधासागर कर्ण, जीवन पौडेल, सुरेन्द्र जोशी, अम्बर बहादुर चन्द्र लगायतका कर्मचारीहरूले बा १ झ ७२०३ नम्बरको सवारी साधन प्रयोग गरी लछमूनिया रेन्ज युनिटमा आयोजना गरिएको रात्रीकालीन भोजमा सरिक भएका थिए ।
आइतबारको घटना
मंसिर ३० गते आइतबार उधौली पर्वका अवसरमा घोषित सार्वजनिक बिदाको दिन पनि सोही सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जङ्गलको चेकपोस्टमा नियन्त्रणमा लिएको थियो । सवारी साधनमा सवार कर्मचारीहरू कार्यालय प्रयोजनको अनुमति बिना नै गाडी चलाइरहेको अवस्थामा फेला परेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार, कर्मचारीहरूले “एकचोटि माफ गरिदिनुहोस्” भन्दै गाडी छोड्न आग्रह गरेका थिए । जोशीले कडा चेतावनीसहित उक्त गाडीलाई छोडेको तर पुनः नियम विपरीत भेटिएमा नियन्त्रणमा लिने बताएका छन् ।
स्थानीयको गम्भीर आरोप
सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरू तस्करहरूसँग मिलेमतो गरी परियोजनाको काठ बेच्ने तथा उनीहरूसँग विभिन्न भोज भतेरमा सरिक हुने गरेको आरोप स्थानीयहरूले लगाएका छन् ।
स्थानीयहरूले शिबेन्द्र चौधरी, बिधासागर कर्ण, जीवन पौडेल, सुरेन्द्र जोशी, अम्बर बहादुर चन्द्र र युबराज कार्कीले परियोजनामा गैरकानुनी काम गर्दै आएको र यसै कारण वनका बोटविरुवा दिनदिनै सखाप हुँदै गएको बताएका छन् ।
कानुनी व्यवस्था र दुरुपयोग
नेपालको कानुनअनुसार, सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको प्रयोग निषेध गरिएको छ । कार्यालय प्रयोजनमा सवारी साधन चलाउनु पर्ने अवस्थामा सम्बन्धित निकायबाट पास लिनु अनिवार्य छ । तर, सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरूले यस नियमको उल्लङ्घन गरेको स्पष्ट देखिन्छ ।
नियमको उल्लङ्घन र फजुल खर्च
सरकारी सम्पत्तिको यस किसिमको दुरुपयोगले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी स्रोत साधनको अनावश्यक खर्च बढाएको छ । सागरनाथ वन विकास परियोजनामा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको अत्यधिक दुरुपयोग हुने क्रमले प्रशासनिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ । सरकारी सम्पत्तिको दुरुपयोगमा संलग्न कर्मचारीहरूमाथि कडा कारबाही गर्न सम्बन्धित निकायले तत्परता देखाउनु आवश्यक छ ।




