गुल्मी । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) को राहदानी शाखामा तोडफोड गरेका छन् । तोडफोड प्रति उनले आफूले नै जिम्मा लिँदै पालिकाका सेवाग्राहीलाई सेवा नपाएको कारण यस्तो कदम चालेको प्रतिक्रिया दिएका छन् ।
बिहीबार प्रशासन कार्यालयमा उनले स्क्यानर मेसिन तोडफोड गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो घटना पछि राहदानी सम्बन्धी सेवा ठप्प भएको छ । कार्यालयका कम्प्युटर अपरेटर सन्देश अधिकारीका अनुसार शुक्रबार पनि राहदानी सेवा सञ्चालन हुन सकेन ।
प्रहरीले अध्यक्ष थापालाई तोडफोडपछि नियन्त्रणमा लिएपनि उनी बिहीबार साँझ लिखित आत्मालोचना र क्षतिपूर्ति दिने सहमतिपछि रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणाली मार्फत राहदानी वितरण व्यवस्थित भएपनि अध्यक्षले आवेगमा यस्तो कदम उठाएको बताए ।
अध्यक्ष थापामगरले भने आफूले पालिकाका नागरिकको सहज सेवाको माग गरेको र कर्मचारीले त्यसलाई अस्वीकार गरेपछि मेसिन फुटाएको प्रतिक्रिया दिए । ‘पहिला आउनेले टोकन पाउँछन्, कालीगण्डकी टाढा भएकाले त्यहाँका नागरिक प्रशासन आइपुग्दा टोकन सकिन्छ,’ उनले भने । उनले थपे, ‘न्यायोचित सेवाप्रवाह हुनुपर्छ । मैले सिस्टमको विरोध गरेँ । नागरिकलाई सेवा दिन गरिएको आग्रह सुनिएन । आवेगमा स्क्यानर फुटाएँ ।’
प्रशासन कार्यालयको प्रतिक्रिया
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार लिखित सहमतिपछि अध्यक्ष थापामगरलाई छुटाइएको हो । तोडफोडबाट सेवा अवरुद्ध भएकाले पालिकाका नागरिकलाई थप समस्या भएको जनाइएको छ ।
यो घटना स्थानीय तहका जनप्रतिनिधि र प्रशासनबीचको समन्वय अभावका कारण सिर्जना भएको देखिन्छ । यस्तो घटनाले सेवाग्राहीको समस्या समाधान गर्नुभन्दा झन् बढाउन सक्छ भन्ने विश्लेषण गरिएको छ ।




