सर्लाही । बलरा नगरपालिका ४ का पूर्ववडाध्यक्ष तथा समाजसेवी केशव झाको ८५ वर्षको उमेरमा निधन भएको छ। उनको एक सातादेखि निमोनिया र श्वासप्रश्वास सम्बन्धी रोगका कारण उपचार हुँदै गर्दा निधन भएको उनका भतिजा नरेश झाले जानकारी दिए ।
राजनीतिक जीवन
समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । वि.सं. २०५६ मा बलरा गाविसको अध्यक्ष पदमा निर्वाचित झा वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका ४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा र चार छोरी रहेका छन् ।
शोक बिदा घोषणा
पूर्ववडाध्यक्ष झाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै बलरा ४ का वडाध्यक्ष मणिभूषण सिंहले शोक बिदा घोषणा गरेका छन् । वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । सिंहले झाको निधनले कुशल राजनीतिज्ञ र समाजसेवी गुमाएको भन्दै शोक व्यक्त गरेका हुन् ।
सांसद सिंहद्वारा श्रद्धाञ्जली
सङ्घीय सांसद अमरेशकुमार सिंहले शोक सन्देश जारी गर्दै पूर्ववडाध्यक्ष झाको निधनले बलरा क्षेत्रले कुशल समाजसेवी र राजनीतिज्ञ गुमाएको बताए । शोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै सांसद सिंहले उनको आत्माको चिरशान्तिको कामना समेत गरेका छन् । झाको मृदुभाषी स्वभाव र समाज प्रति समर्पित व्यक्तित्वको सम्झना गर्दै स्थानीय तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।




