काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको खुसियालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले स्थानीय बिदा दिएको छ । शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।
जनकपुरको ऐतिहासिक जितको अवसरमा सखुवा प्रसौनी गाउँपालिकाले आइतबार (पुस ७) स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष जसवन्त यादवद्वारा जारी सूचनामा सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा अति आवश्यक बाहेकका सेवाहरू बन्द हुने जानकारी गराइएको छ ।
“गाउँ कार्यपालिकाको मिति २०८१/०९/०६ को निर्णयानुसार भोलि मिति २०८१/०९/०७ गते आइतबार एक दिनका लागि स्थानीय बिदा हुने व्यहोरा जानकारी गराइएको छ,” सूचनामा उल्लेख छ । जनकपुर बोल्ट्सको जितले मधेस प्रदेशमा उल्लास छाएको छ, र यस खुसियालीलाई थप विशेष बनाउन बिदाको घोषणा गरिएको हो ।




