तेह्रथुम । टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बग्दा दुई जनाको ज्यान गएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका ५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोलाको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरूलाई खोलाले बगाएको थियो ।
घटनापछि खोजी कार्यमा खटिएको टोलीले साँझ दुबै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनीमाया तामाङले जानकारी दिइन् । मृतकहरूको शव परीक्षणका लागि राखिएको छ र आइतबार परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ ।




