काठमाडौं । ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन वडा कार्यालय भवनमा तोडफोड भएको छ । तोडफोडमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् ।
पूर्व वडा अध्यक्ष देवप्रसाद बानियाँको नेतृत्वमा शनिबार दिउँसो ३:२० बजे ग्रेन्डर मेसिनको प्रयोग गरी कार्यालय भवनका तीनवटा पिलर तोडफोड गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापाले जानकारी दिए ।
तोडफोडको घटना बारे बोल्दै वडा अध्यक्ष भिमसेन थापाले यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको बताए । उनका अनुसार २०८० साल असोज ६ गते सर्वदलीय भेलाले उपयुक्त स्थान छनोटका लागि ४५ दिनको समय दिएको थियो । तर, सो समयमा स्थान टुंगो नलागेपछि गाउँ कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण अघि बढाइएको थियो ।
तोडफोडमा संलग्नको पहिचान
सिसि क्यामेराको फुटेजको आधारमा तोडफोडमा संलग्नको पहिचान गरिएको छ । पक्राउ परेकाहरूमा पूर्व वडा अध्यक्ष देवप्रसाद बानियाँ, तेज बानियाँ, भिमबहादुर बानियाँ, राजकुमार बानियाँ, र सुब्बा बानियाँ रहेका छन् । यस्तै, भूपेन्द्र बानियाँ र ङ बहादुर थापा (भरत) फरार रहेको प्रहरीले जनाएको छ ।
सर्वदलीय निर्णयको उल्लङ्घन
वडा अध्यक्ष थापाका अनुसार सर्वदलीय निर्णयलाई बेवास्ता गर्दै भवन तोडफोड गरिएको हो । “सर्वदलीय निर्णय सबैले पालना गर्नुपर्छ । निर्णयमा असहमति भए विकल्प दिनुपर्छ,” उनले भने ।
सार्वजनिक मुद्दा चलाइने
प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक मुद्दा चलाइने जनाएको छ । वडा कार्यालय भवन निर्माणका लागि १ करोड २१ लाखमा ठेक्का सम्झौता गरी काम सुरु भएको थियो । तोडफोडको घटनाले ईन्द्रावती गाउँपालिकामा राजनीतिक ध्रुवीकरण र सहकार्यको अभाव उजागर गरेको छ ।




