पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५, महलबारीस्थित दीपक मावि पक्लिहवा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुरले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यस शिविरमा ४२२ जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक नि:शुल्क औषधि वितरण गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार शिविरमा १५५ महिला र २६७ पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रम सशस्त्र प्रहरी बलको समन्वयमा देवदह मेडिकल कलेज, लायन्स क्लब अफ बुटवल शुभारम्भ र बर्दघाट डेन्टल क्लिनिकको सहकार्यमा सम्पन्न भएको हो ।
स्वास्थ्य सेवा र उपलब्धिहरू
शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, छाला, हाडनसा र दाँत सम्बन्धी रोगको परीक्षण, परामर्श, उपचार र नि:शुल्क औषधि वितरण गरियो । सशस्त्र प्रहरी बलका चिकित्सकसहित देवदह मेडिकल कलेज र बर्दघाट डेन्टल क्लिनिकका विशेषज्ञहरूको टोलीले सेवा प्रदान गरे ।
सशस्त्र प्रहरी बल नम्बर २६ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले सिमावर्ती क्षेत्रका बासिन्दाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए । “स्वास्थ्य शिविरले आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउँदै सिमावर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ,” उनले भने ।
स्थानिय बासिन्दाको उत्साहजनक सहभागिता
शिविरमा सहभागीले सामान्य स्वास्थ्य परीक्षण, परामर्श र औषधि सेवाबाट राहत मिलेको प्रतिक्रिया दिएका छन् । शिविरमा स्थानीय बासिन्दाको ठूलो सहभागिता रहनुका साथै कार्यक्रमप्रति सकारात्मक धारणा व्यक्त गरिएको छ ।
प्रमुख अतिथिको प्रशंसा
स्वास्थ्य शिविरका प्रमुख अतिथि जिससका प्रमुख भगौती प्रसाद यादव (रुदल) र सुस्ता गाउँपालिका अध्यक्ष टेक प्रसाद उपाध्यायले सशस्त्र प्रहरीको प्रयासको प्रशंसा गरे । उनीहरूले यस्ता शिविरलाई निरन्तरता दिन सुझाव दिँदै यसले सिमावर्ती क्षेत्रका बासिन्दाको स्वास्थ्य सुधार र जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी बल नेपालले सिमावर्ती क्षेत्रका नागरिकहरूको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ ।




